किक बक्सिङ संघको अध्यक्षमा क्षेत्री

कास्की जिल्लामा मार्शल आर्टको खेलमध्ये किक बक्सिङ खेलको पहिलो पटक आधिकारिक रुपमा संघ दर्ता भएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेको नेशनल किक बक्सिङ एशोसिएसन नेपालको आयोजनामा कास्कीमा हालै सम्पन्न खेलप्रेमी तथा मार्शल आर्ट खेलाडीहरुको भेलाले बिजय क्षेत्रीको अध्यक्षतमा कास्की जिल्ला किक बक्सिङ संघ गठन गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

नवगठित संघको उपाध्यक्षमा राजेश बहादुर कार्की, सचिबमा विष्णु नेपाली, कोषाध्यक्षमा मोहित नेपाली र सहसचिवमा मेनुका नेपाली रहेका छन् ।

त्यसैगरि कार्यसमितिको सदस्यमा जंगबहादुर हमाल ठकुरी, दिलिप परियार, सोहन गुरुङ, मसिना राई, छायाँ मानन्धर, चिरन्जिबी पौडेल र बिक्रम शाही ठकुरी रहेका छन ।

अध्यक्षमा चयन भएका क्षेत्रीले कास्की जिल्लामा छरिएर रहेका किक बक्सिङ खेलाडीलाई एक ठाउँमा ल्याउने र उनीहरूलाई आगामी दिनमा थप प्रशिक्षणको व्यवस्था मिलाउन आफूले पहल थाल्ने बताए ।

उनले भने, ‘अहिले हामी एकदमै सुरुवाती चरणमा छौं । धेरै देशमा खेलिने यो लोकप्रिय मार्शल आर्ट खेललाई कास्कीमा स्थापित गर्न प्रयास गर्नेछौं ।’