मंसिर १४ गते हुने उपनिर्वाचन मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले बहिस्कार गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिएको जानकारी गराएका छन् ।
नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो ।
नेता गजुरेलले निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्ने र कार्यनीति अन्तर्गत कहिले भाग लिने कहिले नलिने बताएका छन् । आफूहरुले अहिलेको संविधान, सरकार र व्यवस्थाकै विकल्प खोजेको उनको भनाई छ ।






