दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको तयारी तीव्र बनाइएको छ ।
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा क्रिकेटको फ्रेन्जाईज प्रतियोगिता यही कात्तिक अन्तिम साता अर्थात २६ गतेदेखि हुँदैछ ।
प्रतियोगिताका लागि यतिबेला मैदान बनाउने काम धमाधम भइरहेको छ । क्युरेटर प्रदिप राउतका अनुसार पिचको काम २ हप्तामा सकिनेछ । उनले आउट फिल्ड भन्दा पनि पहिला पिच बनाउने काम भइरहेको बताए ।
२ वटा पिच क्ले हुने र २ वटा पिच भने हल्का हरियो हुने उनले बताए । उनका अनुसार अहिले आउट फिल्डको घाँस काटेर लेभलिङ गर्ने काम भएको छ ।
पहिलो संस्करणको उपाधि पोखरा पल्टनले उचालेको थियो । सञ्चालित प्रतियोगितामा दर्शकको लागि आवश्यक सिटसहितको प्यारापिट समेत बनाउने योजना छ । गत वर्ष पहिलो संस्करणमा मैदान निर्माणमा खर्च बढी गरिएको थियो ।
जिल्ला खेलकुद विकास समितिको १० लाख रुपैयाँ र कास्की जिल्ला क्रिकेट संघको ९१ हजार रुपैयाँको लागतमा मैदानको वरिपरी माटो भरेर सम्याउने काम गरिसकिएको छ । झाडी बुट्यान सबै फालिएको छ । मैदान फराकिलो बनेको छ ।
विराटनगर टाइटन, बुटबल ब्लास्टस, चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स, र पोखरा पल्टनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।




