निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय कास्की क्षेत्र नं २ (क) गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय शुभारम्भ गरिएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले स्वीच थिचेर कार्यालय शुभारम्भ गरेका हुन् ।
उक्त अवसरमा मन्त्री बस्नेतले सांसद कृष्ण थापाको काम प्रशंसानीय रहेको बताए । उनले जनताको सेवामा हातेमालो गर्दै अघि बढ्न आग्रह समेत गरे ।
विकासका काममा आफ्नो मन्त्रालयबाट सक्दो सहयोग रहने भन्दै मन्त्री बस्नेतले यस कार्यालयबाट विकासका लागि ल्याउने योजनामा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
गण्डकी प्रदेशसभा सदस्य एवं कार्यक्रमका अध्यक्ष कृष्णबहादुर थापाले जनताको सेवाका लागि कार्यालय स्थापना गरेको र आफ्नै कार्यालय सम्झी विकासका योजना पेश गर्न आग्रह गरे ।
आफू जनताका काम गर्न आतुर रहेको र जनताकै लागि कार्यालय स्थापना गरेको उनले बताए । विकास निर्माणको काममा अवरोध गर्न खोज्नेसंग कुनै पनि किसिमको सम्झौता नहुने थापाले स्पष्ट पारे ।
कार्यक्रममा जिल्ला समन्वयका सभापति बैन बहादुर क्षेत्री, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पनि बोलेका थिए ।
कार्यक्रममा नेपालीको महान पर्व दीपावली, नेपाल संवत्, भिन्तुना, छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
यस्तै, वडा नं. ७, १५, १७, २१ र ३३ का वडाबासीका समस्यालाई समयमै समाधान गर्ने र विकासका कामहरू चुस्तदुरुस्त बनाउन कार्यालय लागि पर्ने प्रतिबद्धता जनाइएको छ ।
यो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश कै पहिलो कार्यालयको रुपमा स्थापना भएको सांसद कृष्ण थापाका स्वकीय सचिव महेन्द्र पौडेल उपाध्यायले जानकारी दिए ।
कार्यक्रम संचालन गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले गरेकी थिइन् ।






