प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए ।
परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका प्रचण्डसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए ।
शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष प्रचण्ड फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे, करिब २ घण्टा त्यहीँ अलमलिए ।
ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएको निष्कर्ष निकालेका प्रचण्डको आइतबारको भेट पनि त्यही विषयमै केन्द्रित थियो ।
स्रोतका अनुसार ‘मिलिनियम चालेन्ज कर्पोरेसन ‘एमसीसी’ को परियोजनासम्बन्धी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन तत्कालीन सभामुख महराले असहयोग गरेको भन्ने ओलीको अभिव्यक्तिप्रति पनि दाहाल सन्तुष्ट छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।






