कास्की निर्वाचन क्षेत्र नं. २ को निर्वाचनबारे विभिन्न चर्चा, बहस र टिकाटिप्पणी भइरहेको छ । उम्मेदवारबारे पार्टीहरूमा गरमागरम बहस तीव्र छ ।
यसैक्रममा नेपाली कांग्रेसबाट चुनाव लड्न चाहना गरेका भनिएका १६ जनामध्ये ११ जनाले पार्टीको क्षेत्रीय कार्यसमितिमा हस्ताक्षरसहितको निवेदन बुझाएका छन् ।
उनीहरूले पार्टीभित्र एकता हुन नसके गम्भीर पिडा हुने भन्दै ध्यानाकर्षण गराएका छन् । साथै उम्मेदवार छनोटका लागि चुनावी प्रक्रिया नअपनाउन समेत ध्यानाकर्षण गराएका छन् ।
‘वर्तमान अवस्थामा गणितीय संख्याका आधारमा उम्मेदवा छनोट प्रक्रिया अपनाउँदा साथीहरूबीच विभाजन हुने, चरम असन्तुष्टि बढ्ने र निर्वाचनलाई गम्भीर असर पर्ने हुँदा पार्टीको हितका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी हासिल गराउने वातावरण निर्माण गर्न पार्टीको क्षेत्रीय समितिले गम्भीर भएर सोच्नेछ भन्ने हाम्रो विश्वास छ’, ११ जनाले बुझाएको पत्रमा भनिएको छ ।
उनीहरूले १६ जनाकै नाम केन्द्रमा सिफारिस गर्न समेत आग्रह गर्दै केन्द्रले १६ जना आकांक्षीमध्ये जसलाई उम्मेदवार बनाए पनि पार्टीको आधिकारिक हुने भएकाले उक्त उम्मेदवारलाई जिताउने कुरामा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।
निवेदनमा हस्ताक्षर गर्नेमा खेमराज पौडेल, शोभियतबहादुर अधिकारी, लक्ष्मी पाण्डे, ऋषि काफ्ले, वीरेन्द्र नारायण विजुक्छे, गुरुप्रसाद बराल, विमला भण्डारी, खेमकुमारी बराल, महादेव गुरुङ, कृष्ण कार्की र निर्मलप्रसाद कर्माचार्य रहेका छन् । उनीहरूले पार्टीको कास्की कार्यसमिति र केन्द्रीय समितिलाई बोधार्थ दिएका छन् ।








