अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनबाट फुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो औपचारिक बैठक बसेको छ।
गत साता निलम्बन फुकुवा भएपछि क्यानको आइतबार बैठक बसेको हो। बैठकमा पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट दिएको राजीनामाको विषयमा छलफल भएको छ।
तर उनको राजीनामाको विषयमा क्यानलाई औपचारिक पत्र प्राप्त नभएकाले थप बुझ्ने निर्णय भएको महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।
‘पारसको राजीनामाको विषयमा विभिन्न संचार माध्यममा आएको समाचारप्रति क्यानको ध्यानाकर्षण भएको छ,’ प्याकुरेलले भने, ‘तर क्यानलाई राजीनामाको विषयमा औपचारिक जानकारी प्राप्त भएको छैन। त्यसैले यस विषयमा थप बुझ्ने निर्णय भएको छ। बुझेपछि के गर्ने विषयमा निर्णय हुन्छ।’






