नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक १३ गते भाईटीका लगाउन शास्त्रसम्मत उपयुक्त नहुने स्पष्ट पारेको छ ।
समितिले आइतबार विज्ञप्ति प्रकाशित गर्दै १२ गते नै भाईटीकाका लागि उपयुक्त दिन रहेको स्पष्ट पारेको हो ।
तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि समितिले यस्तो निर्णय गरेको जनाएको छ ।
पोखरा लगायतका स्थानका नेवार समुदायले नेपाली पञ्चांगमा भाईटीकाको दिन गल्ती भएको भन्दै कात्तिक १३ गते भाईटीका लगाउने निर्णय गरेपछि पञ्चांग निर्णायक समितिले यस्तो स्पष्ट पारेको हो ।
समितिले २०७७ सालको असोज महीनामा अधिकमास (मलमास) पर्ने जानकारी समेत आम सर्वसाधारणमा गराएको छ । विभिन्न धार्मिक कृत्यका लागि १ वर्ष अघि नै मलमासको जानकारी आम मानिसलाई दिनुपर्ने भएकाले सार्वजनिक गरिएको समितिले जनाएको छ ।
समितिका अनुसार यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक शुरु हुनेछ । कात्तिक ८ गतेदेखि यमदीपदान शुरु हुन्छ ।
कात्तिक ९ गते शनिबार काग तिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा पर्ने बताइएको छ ।
यसैगरी कात्तिक १२ गते मंगलबार गोवर्द्धनपूजा, यमद्वितीया, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनुपर्ने समितिको निर्णय छ ।






