सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच असमझ्दारी निकै चुलिएको छ । यसप्रति ओलीले केही बोलेका छैनन् तर प्रचण्डले विवाद छताछुल्ल हुने गर अभिव्यक्ति दिइरहेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘स्वेच्छाचारी’ ढंगले अघि बढेको भन्दै प्रचण्डले पूर्वएमालेका नेताहरूसँग गुनासो गर्न थालेको नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् ।
स्रोतका अनुसार केपी ओली दोस्रोपल्ट (भदौ ५ देखि २० सम्म) सिङ्गापुरबाट उपचार गरेर फर्किए यता प्रचण्ड निकै तनावमा छन् । ओली सिंगापुरबाट फर्किएपछि कार्यकारी अध्यक्षको भूमिका आफूले पाउनेमा प्रचण्ड आशावादी थिए ।
उनले आफू निकटकालाई ब्रिफिङसमेत गरेका थिए । त्यसैले स्कूल विभाग पूर्वएमाले खासगरी ईश्वर पोखरेललाई दिन राजी भएका थिए ।
तर सिंगापुरबाट फर्किएपछि एकल अध्यक्षको जिम्मेवारी दिने त कता हो कता मन्त्रिपरिषद् हेरफेरसमेत गर्न आनाकानी गरेपछि प्रचण्डले ‘धोका’ भएको महसूस गर्न थालेको उनी निकट नेता बताउँछन् । स्रोतका अनुसार प्रचण्ड अहिले तनावमा छन् । र, कार्यक्रमैपिच्छेका असन्तुलित अभिव्यक्तिहरू त्यसैका उपज हुन् ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीसंग प्रचण्डको असन्तुष्टि यस्ता छन् :
१. एकतामा आलटाल : अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई ‘आत्मकेन्द्रित’ भनेर सार्वजनिकरूपमै टिप्पणी गर्न थालेका छन् । ३ महिनाभित्र एकता पूरा गर्ने भनेर २०७५ जेठ १६ मै अन्तर पार्टी निर्देशन (अपानी) जारी गरिएको भए पनि लम्बिएर १५ महिना पुगेकाप्रति उनको आक्रोश थियो ।
२. बैठकको आलोपालो अध्यक्षता : पार्टी एकता गर्दा ओली, प्रचण्डले बैठकको अध्यक्षता आलोपालो गर्ने समझदारी भएको थियो । तर भदौ ९ गते ओली उपचारको सिलसिलामा सिंगापुर भएकाले प्रचण्डले सचिवालय बैठकको अध्यक्षता गरे । ‘एकता गर्दा दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने समझदारी भएको थियो । यति प्रक्रियागत कुरा पनि के लिखित गर्नु भनेर मौखिक नै समझदारी भयो । तर पालना भएन’, पूर्वमाओवादीका १ नेता भन्छन् ।
३. आलोपालो प्रधानमन्त्री : पार्टी एकताको अघिल्लो दिन पूर्वएमाले–माओवादी केन्द्रबीच गोप्य ५ बुँदा भयो । सचिवालयका नेतासमेतलाई थाहा भएन । एमालेका तत्कालीन उपमहाचिव विष्णु पौडेल र तत्कालीन माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्मा साक्षी राखेर २ अध्यक्षले हस्ताक्षर गरेको सम्झौता प्रचण्डले सार्वजनिक गरे । गत जेठ १५ गते । एकताअघिको गोप्य सम्झौता सार्वजनिक गरेको भन्दै अध्यक्ष ओली क्षुब्ध बनेका छन् ।
४. मन्त्रिपरिषद् हेरफेर : ओली र प्रचण्डबीचको बढ्दो असमझदारीको कारण मन्त्रिपरिषद् हेरफेर पनि बनेको छ । प्रचण्डले पहिलोपल्ट २०७५ भदौ २० गते राजनीतिक बिटमा कलम चलाउने पत्रकारहरूलाई आफ्नै निवास खुमलटारमा बोलाएर मन्त्री हेरफेर गरेर भए पनि सरकारको सेवाप्रवाहलाई जनमुखी बनाइने बताए । त्यसपछि महिना बिराएर प्रचण्डले मन्त्री हेरफेर गर्ने बताउँदै आए पनि ओलीले सुनेनन् । दिक्क भएका प्रचण्डले असोज ५ गते विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई भने, ‘मन्त्री हेरफेरको कुरा मलाई नसोध्नूस् । यसले मलाई हैरान बनायो । मन्त्री हेरफेर गर्ने क्षेत्राधिकार प्रधानमन्त्रीको हो ।’
५. ओलीको कार्यशैली : प्रचण्ड ओलीको कार्यशैलीप्रति पनि सन्तुष्ट छैनन् । उनले पटक पटक सरकारको समीक्षा गर्नुपर्ने कुरा सचिवालयको बैठक र ओलीसँगको भेटमा उठाएको उनी निकट नेता बताउँछन् । ‘तर सरकारको त के, प्रधानमन्त्रीकै कार्यशैली बदलिने छाँट देखिँदैन । प्रचण्डको पछिल्लो सङ्केत त्यतापट्टि हुन सक्छ’, उनी निकट नेताहरू बताउँछन् ।
तर जति नै दौडधूप गरे पनि पार्टीभित्र प्रचण्डको वर्चश्व स्थापित हुनेमा शङ्कै गर्छन्, पूर्वएमालेका एक नेता । वरीयतामा नेपालभन्दा माथि ल्याएकाले झलनाथको असन्तुष्टि साम्य भएको छ ।
उपाध्यक्ष प्रस्ताव गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी दिएपछि ओली–वामदेवको सम्बन्ध सुमधुर बनिसकेको छ । प्रदेश र जिल्ला तहको कमिटी एकीकरणका बेला ओलीलाई नै सहयोग गरेकाले नेपालले प्रचण्डलाई साथ दिने सम्भावना न्यून प्रायः छ ।
‘प्रचण्ड पछिल्लो समय कमजोर, एक्लो बन्दै गएको सङ्केत मिलेको छ । गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुनजस्ता पूर्वमाओवादी केन्द्रका प्रभावशाली नेताले ओलीलाई नै साथ दिइरहेका छन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा पनि बादलले ओलीलाई राम्रै सहयोग गरे । यो सबै घटनाक्रमले प्रचण्डलाई एक्लिएको महसुस भएको हुन सक्छ’, नेकपाका एक नेता बताउँछन् ।






