ताजा समाचार

कार्तिक ३ गते २०७६

देशैभर आकाशमा बादल, वर्षाको सम्भावना

आज (आइतबार) बिहानैदेखि देशभरकै मौसम बदली भएको छ। दिउँसो देशका केही स्थानमा पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

मौसमविद्का अनुसार पश्चिमबाट आएको पश्चिमी वायुले देशभको मौसम सामान्य (आधाभन्दा बढी बादल लागेको) देखि पूर्ण (घामै छिर्न नसक्ने गरी बादल लागेको ) सम्म बदली भएको हो।

आज दिनभरि नै मौसम यस्तै धुम्म रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘बीचमा केही बेर घाम लागेजस्तो गरे पनि पुनः मौसम बदली हुनेछ,’ उनले भनिन्, ‘आज दिउँसो या अपराह्नपछि देशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।’

थोरै स्थानअन्तर्गत पूर्वदेखि पश्चिमसम्म देशका जुनसुकै ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको उनले बताइन्। उनका अनुसार आज अपराह्नपछि फाट्टफुट्ट पानी पर्ने सम्भावना छ।

भोलि (सोमबार) देखि भने पश्चिमी वायुको प्रभाव क्रमशः कम हुँदै मौसम सुधार हुँदै जाने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।