ग्याब्रियल जेससले ५०औं गोल पूरा गरेको खेलमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २–० गोलले पराति गर्यो । सिटीका लागि ग्याब्रियल जेसस र डेभिड सिल्भाले गोल गरे ।
सिटीले ३९औं मिनेटमा जेससको गोलबाट अग्रता लिएको थियो । सन् २०१७ मा ब्राजिलियन क्लब पाल्मेरसबाट सिटी आएका जेससको यो टोलीका लागि ५०औं गोल हो । उनले एक सय १० खेल खेल्दै ५० गोल पूरा गरेका हुन् ।
त्यसपछि ४१औं मिनेटमा सिल्भाले दोस्रो गोल गरे । उनले रहिम स्ट्रलिङको पासमा गोल गरेका थिए ।
लगातार गोलको अवसर बनाएको सिटीले दोस्रो हाफमा थप गोल गर्न भने सकेन । जितसँगै दोस्रो स्थानमा रहेको सिटीले नौ खेलबाट १९ अंक बनाएको छ ।
शीर्ष स्थानमा रहेको लिभरपुलको आठ खेलबाट २४ अंक छ । सिटीसँग हारेको क्रिस्टल प्यालेस १४ अंकसहति छैटौ स्थानमा छ ।
शनिबार रातिनै भएको अन्य खेलमा लेस्टर सिटीले बर्नलीलाई २–१ गोलले हराएको छ । चेल्सीले न्युक्यासल युनाईटेडलाई १–० गोलले पराजित गरेको छ । अर्को खेलमा टोट्टनहाम र वाटफोर्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।




