पोखरा पल्टन ७ विकेटले पल्टियो

जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) मा चितवन राईनोजले प्लेअफमा स्थान बनाउन सफल भएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवनले प्ले अफमा स्थान बनाएको हो ।

खेलमा पोखराले दिएको १२८ रनको लक्ष्य चितवनले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । चितवनको जितमा काजल श्रेष्ठले अर्धशतकीय पारी खेलिन उनले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेकी हुन् ।

चितवनका लागि कन्चन श्रेष्ठले २९ तथा कप्तान इन्दु बर्माले २४ रनको यागदान गरिन् । बलिङतर्फ पोखराका लागि अन्जली चन्दले दुई विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान सिता राना मगरले अर्धशतकीय पारी खेल्दै ६५ रन बनाईन् । यस्तै मञ्जु बोगटीले अविजित २४ रन जोड्दा कविता कुवरले १५ बनाइन् । बलिङतर्फ चितवनका लागि कबिता गौतम २ विकेट लिँदा रेखा रावलले १ विकेट लिइन् ।

जितसँगै अपराजित चितवनले ३ खेलमा ६ अंक जोडेको छ । पोखराले भने अंक जोड्न सकेको छैन । शनिबार नै भएको अर्काे खेलमा काठमाडौंले विराटनगर टाइम्सलाई ५३ रनले पराजित गरेको छ ।