जनताको मन जित्ने गरी काम गर्न सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधिलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका छन् ।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले भने, ‘कम्युनिष्ट र कांग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, कांग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।’

जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी प्रभावकारी ढंगले काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए ।

कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाउँदै उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै उनले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए । पौडेलले कांग्रेस विकल्पको रुपमा उदाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टीभत्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याए ।

महामन्त्री डा.शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस दिनप्रतिदिन संकटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने भनाइ राखे ।

प्रशिक्षणमा देशभर ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए । प्रशिक्षण शनिबार सकिने कांग्रेसले जनाएको छ ।