महराद्धारा बयान दिन इन्कार, बयान नदिए के हुन्छ ?

निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन् ।

उच्च प्रहरी अधिकारीका अनुसार महारालाई अस्पतालकै बेडमा गएर पटक–पटक बयानका लागि आग्रह गरिए पनि बोल्दिन भनेका छन् ।

संविधानले नबोल्ने अधिकार दिएको पनि छ । तर प्रमाणबाट पनि महराले यौन दुर्व्यवहार गरे नगरेको पुष्टि हुने प्रहरीले बताएको छ । महरालाई आइतबार फेरि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

शनिबारसम्ममा महराले बयान दिन सक्ने अवस्था अन्त्य भइसकेको छैन । ती प्रहरी अधिकारीले भने, ‘‘बयानमा जबरजस्ती गर्ने कुरा भएन । बोल्ने–नबोल्ने उहाँको स्वतन्त्रताको कुरा हो ।

कुनै पनि अभियुक्तले अदालतमा बयान दिन्न भन्न पाउने व्यवस्था फौजदारी कानुनले नै सुरक्षित गरेको छ ।

नेपालको संविधान र मुलुकी फौजदारी संहिताले पनि कुनै अभियुक्तलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पार्न नमिल्ने व्यवस्था रहेको छ ।

संविधानको भाग ३ मा रहेको मौलिक हकअन्तर्गत धारा २० (७) मा ‘ कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी  हुन बाध्य पारिने छैन,’ उल्लेख छ । 

त्यस्तै मुलुकी अपराध संहिता,०७४ को परिच्छेद २ मा फौजदारी न्यायका सामान्य सिद्धान्त सम्बन्धी व्यवस्था छ । जसको दफा ११ मा आफ्नोविरुद्ध साक्षी हुन कर नलाग्नेः कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन कर लाग्ने छैन’ भन्ने व्यवस्था छ । 

साविती बयान नदिए पनि अनौपचारिक रुपमा भने महराले आफू पीडित भनिएकी रोशनी शाहीको कोठामा गएको प्रहरीसँग स्वीकार गरेका छन् ।

तर, आफूले कुनै प्रकारको दुर्व्यवहार नगरेको दाबी महराको छ । महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते उनकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ ।