नेपाली क्रिकेट टिमको कप्तान को बन्लान् ?

नेपाली क्रिकेटको नियमित उपकप्तान भनेको ज्ञानेन्द्र मल्ल हुन् । तर सिंगापुर र ओमानसँगको सिरिजमा उनी खेलेनन् ।

उनैले आफै उक्त सिरिज नखेल्ने घोषणा गरेपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको थियो ।

ओमान र सिंगापुर सिरिजमा ज्ञानेन्द्रसहित, शरद भेषावकर, बसन्त रेग्मी पनि सहभागी नभएकाले दीपेन्द्रले उपकप्तानीको जिम्मेवारी पाएका थिए । त्यो जिम्मेवारीमा दीपेन्द्र केही हदसम्म सफल पनि भएका छन् ।

अबको नेतृत्वमा भने ज्ञानेन्द्र, दीपेन्द्र, शरद र बसन्तमध्ये एक जनाले लिने निश्चित जस्तै छ । यसमा सबैभन्दा बढी सम्भावना ज्ञानेन्द्रको नै देखिन्छ ।

उनले लामो समयसम्म पारसले कप्तानी गर्दा उपकप्तानी गरेका छन् भने पारस नखेल्दा अधिकांश प्रतियोगितामा कप्तानी समेत गरिसकेका छन् । जसले गर्दा अबको कप्तान उनी बन्ने सम्भावना पनि छ ।

यसैगरी अर्का सिनियर खेलाडी हुन शरद भेषावकर । भेषावकरले उमेर समूह हुँदै नेपाली राष्ट्रिय टिमसम्म आइपुग्दा राम्रो प्रदर्शन गरिसकेका छन् । जसले गर्दा उनको कप्तानीमा पनि नेपालले आगामी दिनको यात्रा तय गर्न सक्छ ।

दीपेन्द्रसिंह ऐरीले पनि उमेर समूह हुँदै राष्ट्रिय टिमको यात्रा तय गरेका हुन् । उनले उमेर समूहमा कप्तानी गरे पनि सिनियर लेभलमा पहिलो पटक उपकप्तानको जिम्मेवारी सम्हालेका छन् ।

हुन त कप्तान हुँदा उपकप्तानको भूमिका त्यति धेरै नहुने भएकाले ऐरीलाई यदि जिम्मेवारी दिने हो भने के गर्लान् त्यो भने पछि नै थाहा हुने छ ।

पारसले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)का कुनै पनि पदाधिकारीले अहिलेसम्म प्रतिक्रिया भने दिइसकेका छैनन् ।