नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको सूचना जब आयो तब प्रदेश नम्बर ५ प्रहरीले विशेष अपरेशनको तयारी गरी सबैलाई नियन्त्रणमा लिने रणनीति लियो ।
सोही आधारमा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने दाङको राजपुर गाउँपालिका–४ मुग्रेठा खोलास्थित जंगलमा प्रहरीले विशेष अपरेशन चलायो ।
सोही अपरेशनको क्रममा प्रहरीले विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जनालाई गएराति पक्राउ गर्यो ।
यसअघि प्रदेश नम्बर ५ मा केही महिना पहिले विप्लवको गाउँ कपिलवस्तुको शिवराजमा पनि प्रहरीले अपरेशन गरेर ठूलो मात्रामा विस्फोटक पदार्थ नियन्त्रणमा लिएको थियो ।
त्यो अपरेसन जस्तै सफल बनाउन प्रहरीले मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको स्थानलाई घेरा हालेको थियो ।
तीन जना प्रहरी निरीक्षकसहित झन्डै एक सयको संख्यामा परिचालित सुरक्षाकर्मीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
उनीहरुलाई पक्राउ गर्न प्रहरी टोली ५ घण्टा बढी पैदल हिँडेर त्यहाँ पुगेको थियो । पक्राउ परेका उनीहरुलाई पनि हिँडाएरै जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।
राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरिएको प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी नवराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्न ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गडहवाको टोली खटिएको थियो ।
मध्यरातमा पक्राउ पर्नेमा केन्द्रीयस्तरमा नेताहरु रहेका छन् । पक्राउ परेका विप्लवका दाइ चन्द्रबहादुर चन्द केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो इन्चार्ज समेत हुन् ।






