म सभामुखको दौडमा छैन : ओनसरी घर्ती

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ एवं पूर्व सभामुख ओनसरी घर्तीले रिक्त रहेको सभामुख पदमा आफ्नो दाबी नरहेको स्पष्ट पारेकी छिन् ।

यसअघि सफल सभामुखका रुपमा चर्चा पाएकी ओनसरी घर्ती अहिले नेकपाको ५ नम्बर प्रदेशको अध्यक्ष छिन् ।

नयाँ सभामुखमा स्वाभाविक रुपमा उनको नाम चर्चामा आएपनि उनी आफैंले चाहिँ ‘सभामुख पदका लागि इच्छुक नरहेको’ र पार्टीमा फरक भूमिकामै बस्न चाहेको बताइन् ।

‘पूर्व सभामुख भएका आधारमा मेरो नाममा चर्चा हुनु स्वभाविक नै हो तर, मेरो आफ्नै इच्छा भने सभामुखमा जाने छैन’, घर्तीले भनिन्, ‘मैले दुईवर्ष सभामुख भएर जिम्मेवारी बहन गरिसकेको छु, अहिले म सांसद र पार्टीको जुन जिम्मेवारीमा छु त्यसमा नै सन्तुष्ट छु ।’

बलात्कारको आरोप लागेर कृष्णबहादुर महराले पदत्याद गरेपछि खाली भएको सभामुख पदमा आफ्नै पार्टीबाट चयन गर्ने तयारी सत्तारुढ नेकपाले गरेसँगै अहिले संभावित उम्मेदवारहरूबारे चर्चा भइरहेको छ ।