काँग्रेसले सभामुख पदका लागि उम्मेद्वारी दिने

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

उनले भने,‘अहिले सभामुख पद रिक्त छ, नेपालको संविधानले पनि सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङको हुनुपर्छ भनेर व्यवस्था गरेको छ । हाम्रो पार्टी सभापतिले शेरबहादुर देउवाले भनेजस्तै हामी सभामुखमा उम्मेद्धवारी दिन्छौं ।’

नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको बताए । उनले भने,‘उहाँको भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म सम्झौता भएका छन् । यो महत्वपूर्ण कुरा हो । तर, सहमति भएरमात्रै हुँदैन, कार्यान्वयन पक्षलाई पनि कडाईका साथ अघि बढाउनुपर्छ ।’

उनले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएपनि दौत्य सम्बन्ध स्थापना भएपछि पनि तीन वटा चिनियाँ राष्ट्रपति र ५ जना प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको र सो अवधिमा धेरै सन्धि तथा सम्झौता भएको स्मरण गराए ।

तर, ती सम्झौताहरु कार्यान्वयन नभएको उनको गुनसो छ । नेपालका विभिन्न महत्वपूर्ण परियोजनामा काम गर्ने चिनियाँ ठेकेदारले कमजोरी देखाएको पनि उनले टिप्पणी गरे ।