अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षती घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔंू भन्ने मुल नाराका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सप्ताहव्यापी विपद व्यवस्थापन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
सोही अवसरमा २९ गते बुधबार गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा खोचबाट उद्धार नमूना प्रदर्शन गरिएको छ । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश अन्तर्गत विभिन्न मन्त्रालयका सचिवहरु, कास्कीका प्रमुख जिल्ला अधिकारी,गण्डकी प्रदेश स्थित विभिन्न सुरक्षा निकायका प्रमुख एवं अन्य प्रहरी कर्मचारीहरु, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिहरु, नेपाल स्काउटका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, पत्रकार लगायतले उक्त नमूना प्रदर्शनको अवलोकन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शारीरिक रुपमा तयार रहन सबैमा आग्रह गरे ।
साथै गण्डकी प्रदेश नेपाल प्रहरीको उद्दार समूहलाई आवश्यक पर्ने उपकरणहरुको व्यवस्था गर्न गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै प्रहरी कर्मचारीहरुको मनोबल वृद्धि गराउन आवश्यक सेवा सुविधा वृद्धिका लागि पहल गर्ने कुरा समेत बताएका थिए ।
साथै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नै नेपाली सेना पश्चिम पृतना पोखराको टोलीले पोखराको नयाँबजार स्थित अग्नी नियन्त्रण नमूना अभ्यास प्रदर्शन गरेको थियो । नमूना प्रदर्शनका क्रममा टोलीले आगलागीबाट बच्ने उपाय साथै अग्नी नियन्त्रण सामाग्रीहरुको प्रयोग गर्ने तरिका लगायतका विषयमा उपस्थित आम नागरिकलाई जानकारी गराएको थियो । त्यस्तै सोहि कार्यक्रममा सशस्त्र प्रहरी बल गण्डकी प्रदेश पोखराले ताल तलैयामा डुवेका व्यक्तिको खोजी तथा उद्धार नमूना प्रदर्शन समेत गरेको थियो ।






