निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामा गएको स्वीकार गरेका छन् । प्रहरीसंगको बयानमा उनले यस्तो स्वीकार गरेका हुन् ।
महराले रोशनीको परिवारसँग पारिवारिक सम्बन्ध रहेको समेत स्पष्ट पारे । तर रोशनीमाथि कुनै दुर्व्यवहार भने नगरेको महराले बयानमा भनेको प्रहरी स्रोतले बताएको छ ।
रोशनीले प्रहरीमा आफूमाथि महराले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता गरेकी थिइन् । महराले प्रहरीसँगको बयानमा आफूले रक्सीको बोतल समेत नलगेको बताएका छन् ।
अदालतबाट म्याद लिएर प्रहरीले महरामाथि अनुसन्धान गरिरहेको छ । महरालाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न १३ दिनको समय मंगलबार दिएको थियो ।
यसअघि महराले आफू असोज १२ गते रोशनीको कोठामा नगएको दाबी गर्दै आएका थिए । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।






