पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा कति आए पर्यटक ?

पोखरा महानगरपालिका–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पर्यटकको रोजाइमा परेको छ । यो संग्रहालय पोखरामा पर्यटकको बसाइ लम्ब्याउन यो पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।

१ सय रोपनीमा फैलिएको परिसरको करीब ६ रोपनी ८ आना क्षेत्रफलमा निर्मित संग्रहालय २०६१ साल माघदेखि सञ्चालनमा आएको हो । पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको निकै चाप हुने गरेको संग्रहालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानदाता एवं साहसिक पर्यटनका प्रेमीहरू आउने गरेका छन् ।

वर्षमा ३ सय ६५ दिन नै खुला रहने संग्रहालय खुलेयता हालसम्म २१ लाख ९९ हजार ६ सय ९८ ले अवलोकन गरेको प्रशासकीय अधिकृत ऋषिराम पौडेलले जानकारी दिए ।

यस अवधिमा सार्क राष्ट्रबाट १ लाख ७६ हजार ५ सय २५ ले संग्रहालयको अवलोकन गरेका छन् भने अन्य विदेशी राष्ट्रबाट २ लाख ५३ हजार ८ सय ६३ ले अवलोकन गरेका छन् । त्यस्तै नेपाली सर्वसाधारणको संख्या ७ लाख १३ हजार ४ सय ६८ रहेको छ भने ९ लाख ३२ हजार ५ सय ३५ विद्यार्थीले अवलोकन गरेका छन् ।

संग्रहालयले यस अवधिमा टिकट बिक्रीबाट मात्रै रु २० करोड ३२ लाख ९६ हजार ९ सय ५८ आम्दानी गरेको पौडेलले जानकारी दिए ।

संग्रहालयमा ८ हजारभन्दा बढी उचाइ भएका १४ वटा, ७ हजार ५ सयदेखि ७ हजार ९ सय ९९ सम्मका ४०, ६ हजारदेखि ६ हजार ९ सय ९९ सम्मका ६ सय ३ सहित कूल १ हजार ९ सय १३ वटा हिमचुचुरा सम्बन्धमा एकै ठाउँबाट जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ ।

संग्रहालय अवलोकनका लागि विद्यार्थीलाई ५० र सर्वसाधारण नेपालीका लागि रु १०० शुल्क लाग्ने व्यवस्था गरिएको छ भने सार्कअन्तर्गतका पर्यटकलाई रु २ सय ५० र अन्य मुलुकका विदेशीका लागि रु ५ सय शुल्क निर्धारण गरिएको छ ।

विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ वटा हिमशिखरमध्ये ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथासहित आठवटा हिमाल नेपालमा नै पर्दछन् ।

नेपालमा पर्ने अन्य हिमालमा ८ हजार ५ सय ६ मिटरको कञ्चनजंगा, ८ हजार ५ सय १६ मिटरको लोप्से, ८ हजार ४ सय ८५ मिटरको मकालु, ८ हजार २ सय २ मिटरको चोयु, ८ हजार १ सय ६७ मिटरको धौलागिरि, ८ हजार १ सय ६३ मिटरको मनास्लु र ८ हजार ९१ मिटर अग्लो आरोहणको जेठो हिमाल अन्नपूर्ण रहेका छन् ।

संग्रहालयमा आउने पर्यटकले पर्वतारोहण, पदयात्रा, स्किइङलगायतका पक्ष एकसाथ अवलोकन गरी जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

संग्रहालयमा विश्वकै अग्लो सगरमाथाको चुचुरो र गहिरो इजरायलको डेडसीबाट ल्याइएको चट्टानसमेत पर्यटकको अभिरुचिको विषय बनेको छ । अपांगता भएका व्यक्तिले पनि अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको संग्रहालयमा अवलोकनको सहजताका लागि ४ कक्ष र १२ उपकक्ष छन् ।

एशियाकै नमूनाका रुपमा रहेको संग्रहालयमा भारत, पाकिस्तान, चीन, जापान, स्लोभानिया, ताइवान, अस्ट्रेलिया, बेलायत, अमेरिका, इजरायल, कोरियालगायतका विभिन्न देशका पर्वतीय गतिविधि झल्काउने सामग्री पनि प्रदर्शन गरिएको छ ।

अत्याधुनिक प्रविधियुक्त डिजिटल गाइड लाइन जडान गरिएको संग्रहालयमा अवलोकनकर्ताले डिजिटल गाइडमार्फत यहाँका प्रत्येक विषयको जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । विविधतायुक्त नेपालका विभिन्न जातजातिको संस्कृति र परम्परा अध्ययन गर्न सकिने संग्रहालयमा परम्परागत जातीय वेषभूषामा मानिसका जोडी सजाएर राखिएको छ ।

संग्रहालय पस्ने बित्तिकै राखिएको श्रव्य दृश्य कक्षमा पर्वतीय पर्यटनको जानकारी लिँदै सहभागी त्यसपछि मात्रै यहाँका अन्य विविध पक्ष हेर्ने गर्दछन् । संग्रहालयमा रहेको पुस्तकालयमा पर्वतीय पर्यटन सम्बद्ध ३ हजार ५ सयको संख्यामा पाठ्यपुस्तकसमेत रहेको म्युजियम गाइड सरिता कँडेलले जानकारी दिए ।

पुस्तकालय विशेष गरी पर्वतीय पर्यटन सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिको आकर्षण बनेको उनले बताए । संग्रहालय आउने सकेसम्म समय मिलाएर यहाँका विभिन्न पाठ्य सामग्री पढेर पर्वतीय पर्यटन सम्बन्धमा जानकारी लिने गरेको उनको भनाइ छ ।

परिसरमा रहेका ३१ मिटर अग्लो मनास्लु हिमालको नमूना, माउन्टेन क्लाइम्बिङको नमूना, पोखरी तथा चट्टानी बगैँचा, नेपाली गाउँघरको आकर्षक नमूना आदिले जो कोहीलाई लोभ्याउने गरेको छ ।

पर्यटकको बसाइ लम्ब्याउन यस किसिमका पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नु अनिवार्य हुने पोखरा पर्यटन परिषद्को पूर्वअध्यक्ष सोम थापाले बताए ।

पर्यटक लक्षित लगानी बढिरहेका अवस्थामा पर्यटकको संख्या वृद्धिका साथै उनीहरूको बसाइ लम्ब्याउनेतर्फ सबैले ध्यान दिनु पर्ने उनको भनाइ छ ।