आँखा बन्द गरेर ‘केही भएन’ भन्नेहरु आँखा खोलेर हेर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गर्दै केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् ।

दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।

निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही भएको छैन भनेर भ्रम फैलाएको उनले बताए । आँखा बन्द गरेर केही भएन भनिएको भन्दै उनले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्न आग्रह गरे ।

हालै मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा रातारात काम गरेर जस्तो जहाज पनि बस्नसक्ने एयरपोर्ट बनाएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ ।’

हरेक नेपालीको बैंक खाता खोल्ने, नेपालको पानीमा जनताको लगानी जस्ता अभियान सुरु गरिएको, बाटोघाटो, पुलहरु बनेको उनले बताए ।

उनले भ्रष्टाचारमुक्त, सुशासनयुक्त देश बनाएर तिव्र विकासको बाटोमा लैजाने बताएका छन् ।