नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ।
आगामी मंसिर १४ गते उपनिर्वाचनको लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन(तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
यस्तै नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर वा अध्यक्ष, उपाध्यक्षको हकमा सम्बन्धित गाउँ वा नगरकमिटी वा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारको निर्णय गर्ने छ । वडाको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।






