पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को शक्तिशाली एक सय महिलाको सूचीमा परेकी छिन्। ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) ले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा पनि परेकी हुन्।
शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स संस्थाकी संस्थापक हुन् । उनी नेतृत्वको संस्थाले महिला सशक्तीकरणसँगै पोषण क्षेत्रमा काम गर्दै आइरहेको छ ।
बीबीसीले महिला सशक्तिकरणसँगै पोषण क्षेत्रमा शर्माले पुर्याएको योगदानको कदर गर्दै विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई पनि समेटिएको जनाएको छ ।
बीबीसीका अनुसार, शर्मा निकै संघर्षका साथ सामाजिक सेवामा आएकी हुन् । सुरुमा उनलाई गृहिणी बन्ने चर्को दबाव थियो । तर, आमाको प्रेरणाले डिग्री हासिल गरेकी उनले महिला शिक्षा र तिनको सशक्तीकरणका लागि भूमिका खेलेको बीबीसीमा उल्लेख छ ।
महिला शिक्षाका लागि उनका परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ ।
उनको संस्थाले ‘सोचाइ पोषणका लागि युवा कार्यक्रम’लगायतका अभियान अगाडि बढाउँदै आएको छ । कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न उनले न्युट्रबिड्स डिजाइन गरेको बीबीसीमा उल्लेख गरेको छ । त्यस्तै, आफ्ना बच्चाहरूलाई कसरी पोषणयुक्त खाना खुवाउन सकिन्छ भनेर उनले फलाएको जागरणलाई पनि बीबीसीले उदाहरणीय भनेको छ ।
बोनीतासँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय महिलालाई पनि बीबीसीले प्रभावशालीको सूचीमा राखेको छ ।






