उपनिर्वाचनको मिति नजिकिंदै गर्दा कास्कीका रौनक बढ्दै गएको छ । तिहार लगत्तै चुनावी रौनक ह्वात्तै बढ्ने देखिन्छ ।
प्रतिनिधिसभाका लागि १ मात्र निर्वाचन क्षेत्र कास्की-२ पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र हो । उनको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्रमा प्रतिनिधि खाली थियो ।
निर्वाचनका लागि अहिलेसम्म कुनै पनि दलले उम्मेदवार खडा गरेका छैनन् । आकांक्षी धेरै भएपछि मुख्य २ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसमा समस्या भएको छ ।
उपनिर्वाचनका लागि कांग्रेसमा १६ जना आकांक्षी देखिएका छन् । आकांक्षी धेरै भएपछि कांग्रेस आन्तरिक चुनाव गरि उम्मेदवार छनोट गर्ने तयारीमा छ । पार्टी सभापति कृष्ण केसी बिरामी भएपछि उनी सक्रिय भएका छैनन् । उनी बाहिर हिंडडुलसमेत गरेका छैनन् । तर छलफलमा भने उनी व्यस्त छन् ।
उनले केन्द्रीय किमिटीका नेताहरूसंग पनि परामर्श गरिरहेका छन् । उनी कास्कीमा जिल्ला तथा निर्वाचन क्षेत्र बाहिरका नेतालाई उम्मेदवार बनाउन नहुने पक्षमा छन् ।
कांग्रेसबाट देवराज चालिसे, ऋषि काफ्ले, सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण बिजुक्छे, लक्ष्मी पाण्डे, विजय आचार्य, माधव प्रसाद बाँस्तोला मधु आकांक्षी देखिएका छन् ।
यसैगरी कृष्ण कार्की, गुरु बराल, खेमराज पौडेल, निर्मल कर्माचार्य, महादेव गुरुङ, रंगीला आचार्य, खेमकुमारी बराल, केशवप्रसाद निर्दोषी र बिमला भण्डारीले पनि कास्की २ मा चुनाव लड्न चाहना गरेका छन् ।
उम्मेदवार को बनाउने भन्ने निर्णय केन्द्रीय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको हातमा छ ।
यद्यपि कांग्रेस पर्ख र हेरको अवस्थामा पनि छ । नेकपाले उम्मेदवार कसलाई बनाउँछ भन्ने विषय प्रमुख हो । नेकपाले केन्द्रीय नेता उठाएर कांग्रेसले धनराज गुरुङलाई उम्मेदवार बनाउने तयारी गरेको स्रोत बताउँछ ।
नेकपाबाट भने विद्या भट्टराईको नाम १ नं. मा राखिएको छ । उनी चुनाव लड्ने मनस्थितिमा भने छैनन् । नेताहरू सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्कीलगायतले चुनाव लड्न चाहना गरेको बताइन्छ ।
हाइकमाण्ड सक्रिय
यसैबीच आशन्न उपनिर्वाचनका लागि कास्की कांग्रेसले गठन गरेको हाइकमाण्ड सक्रिय भएर खटिएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीका अनुसार नेताहरूलाई दिइएको जिम्मेवारी अनुसार नै उनीहरू निर्वाचन क्षेत्रमा खटिएका छन् ।
नेताहरू अनौपचारिक रुपमा निर्वाचन क्षेत्रमा खटिएका छन् । औपचारिक रुपले भने उम्मेदवार तय गरेपछि मात्रै खटिने सभापति केसीले बताए । अहिले निर्वाचन क्षेत्रमा खटिएका प्रतिनिधिले जनताको चाहना र आकांक्षा बुझ्ने काम गरिरहेका छन् ।
उनीहरूले कास्की–२ मा उम्मेदवार को बनाउँदा ठीक हुन्छ भन्ने विषयमा समेत जनताको राय बुझिरहेका छन् । अब पार्टीको बैठक छिट्टै बसेर यस विषयमा छलफल हुने सभापति केसीले बताए ।






