नेपाल चीनतिर ढल्किएको चर्चा

चीनका राष्ट्रपति सी जिनपिङको गएको शनिबार र आइतबार भएको नेपाल भ्रमणलाई लिएर भारतीय मिडियामा नेपाल चीनतिर ढल्केको भनेर चर्चा हुने क्रम जारी रहेको छ । 

सीको भ्रमणपछि भारतीय मिडियामा प्रकाशित समाचार, सम्पादकीय र विभिन्न आलेखमा भारतलाई नेपाल नीतिमा पुनरवलोकनको सुझाव पनि दिन थालिएको पाइएको छ । 

भारतको इण्डियन एक्सप्रेसमा सी राजा मोहनको आलेखमा चीनका राष्ट्रपतिसँग नेपालले गरेका २० वटा सहमति मध्ये ४ वटा सुरक्षा सम्बन्धी रहेको जनाएका छन् । चीनले सुरक्षा कुटनीतिमा पछिल्लो समयमा जोड दिँदै आएको उल्लेख गरेको छ । 

त्यसमा चीनका राष्ट्रपतिले हङकङको मामिलालाई लिएर चीन विभाजनको कार्यमा लाग्नेको हड्डी भाँच्ने अभिव्यक्ति दिएको प्रसंगलाई समेत जोड दिइएको छ ।

हिन्दुस्तान टाइम्सले नेपाल र चीन रणनीतिक साझेदारको रुपमा पहिलो पटक अघि बढेको भन्ने व्यहोरामा सम्पादकीय लेखेको छ ।

त्यसमा सीले चीन–भारत प्लस नेपाल नीतिको बारेमा नेपालसँग कुरा गरेको उल्लेख गर्दै नेपाल नीतिमा होशियारीपूर्वक पुनरवलोकन गर्नुपर्ने सुझाव समेत दिइएको छ ।

अब्जर्भर रिसर्च फाउण्डेसनको वेबसाइटमा हरिबंश झाले लेखेको एउटा आलेखमा नेपालले आफ्नो दूरी आफैं भारतसँग बढाइरहेको लेखेका छन् ।

सोही फाउण्डेसनको एउटा कार्यक्रममा भाग लिन गएको जनवरी महिनामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली गएका थिए ।

झाले आफ्नो लेखमा नेपाल र भारत दुवैले आफ्ना मतभेद कम गर्न लाग्नुपर्ने जनाउँदै नत्र बढ्दो दूरी दुवैका चासोका लागि प्रत्युद्पादक हुने जनाएका छन् ।