सांसद साह प्रहरीको थुनुवा घरमा, पक्राउको विरोधमा प्रदर्शन

प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा घरमा राखिएको छ । मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ परेका साहलाई हवाइमार्ग हुँदै म्याद थपका लागि सोझै जिल्ला अदालतमा लगिएको थियो ।

तर, कार्यालय समय समाप्त भइसकेको हुँदा म्याद थप हुन नसकेपछि बुधबार पुनः अदालत लग्नेगरी तत्काललाई जिल्ला प्रहरी कार्यालयको थुनुवाघरमा राखिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जनाए । साहलाई अन्य थुनुवालाई जस्तै जिल्ला प्रहरी कार्यालयमा बस्ने व्यवस्था मिलाइएको खनालको भनाइ छ । 

सांसद साह काठमाडौंमा पक्राउ परेको खबर पाउने बित्तिकै उनका समर्थकहरु जनकपुर विमानस्थलमा पुगेर प्रदर्शन गर्न थालेका थिए । अहिले जिल्ला प्रहरी कार्यालय अगाडि सांसद साहका समर्थक तथा राजपका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । 

सोमबार जनकपुर विमानस्थलमा ११ः४० बजे आउनुपर्ने विमान डेढ बजेसम्म नआएको र यसमा कर्मचारीको लापरवाही रहेको भन्दै आक्रोसमा आएका सांसद साहले तोडफोड तथा कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । पछि सोही जहाज चढेर काठमाडौं पुगेका सांसद साह मंगलबार ओखलढुंगा जाने क्रममा काठमाडौं विमानस्थलबाट पक्राउ परेका हुन् । 

नागरिक उड्डयन कार्यालय, जनकपुरले दिएको जाहेरी आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतको अनुमति लिएर मंगलबार काठमाडौं पठाएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले विमानस्थलबाटै साहलाई पक्राउ गरेको हो । सर्लाहीको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साहलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामै पठाउन लागिएको धनुषाका एसपी शेखर खनालले बताए । 

खनालका अनुसार जनकपुर आइपुग्नेबित्तिकै जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने योजना छ । जाहेरी अनुसारको घटनामा संलग्न देखिए सांसद साहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने खनालले बताए । 

उनका अनुसार साह विरुद्ध गैरसैनिक हवाइ उडान ऐन २०१५ मा उल्लेखित प्रावधानलाई टेकेर नागरिक उड्डयन कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । 

विरोध शुरु

राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको रिहाइको माग गर्दै उनको गृहजिल्ला सर्लाहीमा जुलुस प्रदर्शन भएको छ । उनलाई पक्राउ गरेपछि राजपा नेपाल सर्लाही जिल्ला कमिटीको बैठक बसेको थियो । सो बैठकले सांसद साहको रिहाको माग गर्दै जिल्लामा प्रदर्शन शुरु गरेको राजपा नेपालका विद्यार्थी नेता मनिष मिश्रले बताए ।

त्यसैगरि राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी सांसद साहलाई रिहा गर्न माग गरेको छ । साथै एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न पनि सो पार्टीले माग गरेको छ ।

बुद्ध एयरको जहाज घण्टौसम्म नआउँदा छटपटाई रहेको विरामीको पिडा हेर्न नसकेर बुद्ध एयरको काउण्टरमा सोधपुछ गर्न जाँदा समान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाई सांसद साहलाई पक्राउ गरेको भन्दै राजपा नेपालले आपत्ति प्रकट गरेको छ ।