पोखरा चेम्बर अफ कमर्समा शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुखी नेपाली र समृद्ध नेपाल बनाउने राष्ट्रिय मुद्दालाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन् । उनले आर्थिक समृद्धि र दिगो विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

विजयादशमी, दीपावली, नेपाल संवत ११४० र छठ पर्व २०७६ को पोखरा चेम्बर अफ कमर्स कास्कीले मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम मुख्यमन्त्री गुरुङले पछिल्लो समयमा आर्थिक वृद्धिदर हासिल गर्नेमा नेपाल दक्षिण एसियामा दोस्रो राष्ट्र रहेको दावी गरे । ‘दिगो विकास लक्ष्य अनुसार अति कम विकसित देशमा वार्षिक कुल ग्राहस्थ उत्पादन वृद्धिदर कम्तीमा ७ प्रतिशत पु¥याउनु आवश्यक छ,’ मुख्मन्त्री गुरुङले भने, ‘अति कम विकसित देश नेपाल अबको १० वर्षमा मध्यम स्तरको विकसित राष्ट्र बन्नेछ ।’

मुख्यमन्त्री गुरुङले दिगो विकास लक्ष्य अनुसार नेपालले सबैको लागि समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण रोजगारी र सम्मानजनक काम प्रर्वद्धन गर्नुपर्ने बताए । नेपालको व्यापार घाटा कम गर्न ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले नेपालीका प्रति व्यक्ति आय बढाउन नसक्दासम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने धारणा राखे । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले संघीय सरकारको आर्थिक समृद्धि र दिगो विकासको राष्ट्रिय लक्ष्य र दिगो विकास लक्ष्यलाई हासिल गर्ने गरी काम गरेको जनाए ।

चिनीया राष्ट्रपति सिजिन पिङले जे बोल्छन्, त्यही नीति बन्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रा कुरा गर्दा पनि खिसी टिउरी गर्ने प्रवृत्तिले राष्ट्रिय अनुशासन कायम हुन नसक्ने तर्क गरे । उनले राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै सबै नागरिकले कर्तव्य पालन गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशसभाका विकास समिति सभापति दीपक कोइरालाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले निजी तथा सार्वजनिक क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले चेम्बरले गर्ने रचनात्मक र सिर्जनात्मक काममा पार्टीको एक्यवद्धता र सहयोग रहने जनाए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारी, पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनार, चेम्बरका वाणिज्य तर्फका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमबहादुर भुजेल, चेम्बर अफ कमर्सका महासचिव उमराज बास्तोला लगायतले बोलेका थिए ।