महरा अनुसन्धानका लागि थप तीन दिन हिरासतमा

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

यसमा महरा पक्राउ परेको दिनदेखिकै गणना हुन्छ । पक्राउ परेयता महरा १० दिन थुनामा बसिसकेकाले अब तीन दिन थुनामा रहनेछन्  ।

महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । बीचमा दसैं बिदा परेकाले म्याद थपका लागि आजमात्र प्रहरीले महरालाई अदालतमा पेश गरेको थियो । 

महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले डिस्चार्ज नगरेकाले फेरि अस्पतालमै भर्ना गरिने बताइएको छ । 

महरामाथि असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिएका थिए ।