साथीलाई छुरा प्रहार गर्ने युवा पक्राउ

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

भुजेलको आजै जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । सविनको पेट, ढाड, बायाँ काखीमुनि र निधारको यत्रतत्र भागमा छुरा प्रहार भएको थियो ।