अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड भोलि, तयारी पूरा

पोखरामा भोलि बुधबार आयोजना हुने अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा १ सय ५ जना धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

दौडमा सहभागी हुने चिनिया प्राविधिकसहितको टोलीहरू पोखरा आइसकेका छन् । प्रतियोगितामा चीनका करिब समूह र व्यक्तिगत ७० जना धावक सहभागी हुनेछन् ।

साथै नेपालका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ९० जनाको टोली सहभागी हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखले जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ पोखरा र चीनको माउण्टेनरिङ एक्सप्लोरेसन एशोसिएशन कुनमिङको आयोजना, पोखरा र कुनमिङ महानगरपालिकाको संरक्षकत्व चिनिया पर्यटक प्रवर्द्धन र चिनियाँ शहर कुनमिङ बीचको भगिनी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक पालिखेले जानकारी दिए ।

दौडमा नेपालको तर्फबाट २५ टिमले सहभागिता जनाउने भएका छन् । ३ वटै विभागीय टिमसहित नेलाका विभिन्न जिल्लाका धावकले सहभागीता जनाउने उनले बताए । समूहगत र व्यक्तिगत गरि २ समूहमा प्रतिस्पर्धा गराइनेछ । व्यक्तिगतमा चिनियाँ ३० खेलाडीले सहभागीता जनाउने संयोजक पालिखेले बताए ।

दौडलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ भने एथलेक्ट सोसाइटी काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लब लगायत विभिन्न संघ/संस्थाले सघाएका छन् ।

दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराहीचोकबाट बिहान ९ बजेट शुरु हुनेछ । दौडको दूरी २२ किलोमिटर, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ भने मट्टिखान तथा पुम्दीभुम्दीको १ हजार ३ सय मिटरको उचाईसम्म धावकहरू पुग्नेछन् ।

दौडको समापन पुनः बाराही घाटमा नै हुनेछ । यो इभेण्टलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकाले कभरेज गरि प्रचारप्रसार गराउने लक्ष्य लिइएकोले यसले चिनिया बजारमा नेपाल र पोखराको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ भन्ने विश्वास लिइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वयंबाट नै नेपालको पर्यटन प्रवर्द्धन सघाउने प्रतिवद्धता व्यक्त भएको सन्दर्भमा यो दौडले अझ ठूलो महत्व राख्ने अपेक्षा गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ३४ लाख रुपैयाँ खर्च लाग्ने र ३५ लाख रुपैयाँ आम्दानी हुने आयोजकको दावी छ ।