आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७ सय १ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको १ प्रदेशसभा र १ वडाध्यक्षमा गरी २ स्थानमा उपनिर्वाचन हुँदैछ ।
गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका २ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् । उपनिर्वाचनमा जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ बाट ३६ हजार ९ सय २६ र बडिगाड गाउँपालिका २ का १ हजार ७ सय ७५ गरी जम्मा ३८ हजार ७ सय १ मतदाता उपनिर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास पौडेलले बताए । यसअघि प्रदेशसभा (ख) मा ३३ हजार २ सय ४० मतदाता सहभागी भएका थिए ।
उपनिर्वाचनमा भाग लिने दलले निर्वाचन आयोगमा दल दर्ता गरिसकेपछि बागलुङमा चुनावी सरगर्मी बढ्न थालेको छ । ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा ४२ मतदानस्थल रहनेछन् भने बडिगाड गाउँपालिका २ मा २ मतदानस्थल रहनेछन् ।
गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका (राजमो) टेकबहादुर घर्तीको २०७५ सालको मंसिर २६ गते निधन भएको थियो । राजमोबाट जिल्ला नेता घर्तीले तत्कालीन एमाले र माओवादी केन्द्रकोसमेत समर्थनमा बाम गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जितेका थिए । जन्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।
रिक्त रहेको २ पदमा उपनिर्वाचन हुने भएपछि यस क्षेत्रमा क्रियाशील नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राजमोका नेताले पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतासमक्ष आफ्नो उम्मेदवारी आकांक्षा प्रस्तुत गर्न थालेका छन् ।
यसअघि प्रदेशसभामा बाम गठबन्धनबाट विजयी घर्तीकी पत्नी सुनमायालाई मुख्य सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । यद्यपि सुनमाया यसै वर्षमात्र स्थायी शिक्षकमा नाम निकालेर पारिवारिक जीवनलाई लयमा लैजाने बेलामा श्रीमानकै उत्तराधिकारीका रुपमा राजनीतिक मैदानमा आउने सम्भावना कमजोर देखिन्छ । सुनमायाले निर्णय गर्न नसकेको अवस्थामा राजमोबाट अन्य उम्मेदवार मैदानमा आउन सक्ने सम्भावना छ । विगतको बाम गठबन्धन सहकार्यले निरन्तरताको विषयमा पनि चर्चा परिचर्चा र अनेक अनुमान सुरु भएको छ ।
नेपाली कांग्रेसले भने ४ जना स्थानीय नेताको नाम केन्द्रमा सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार रिक्त रहेको स्थानहरुको उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेको जनाएको छ । जसमध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् ।
मंसिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ५२ पदमा निर्वाचन हुँदै छ ।






