एनआरएनले नवौं विश्व सम्मेलनको तयारीबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार भन्दा पनि गैरपत्रकार धेरै देखिन्थे ।
जब पत्रकार सम्मेलनमा एनआएरएनएका प्रवक्ता भूषण घिमिरेले लिखित प्रेस वक्तव्य बढेर सक्याए तब ‘प्रश्न भए राख्न’ भन्दै समाचार संयोजक चिरन शर्माले फ्लोरमा माइक दिए । त्यहाँ पत्रकार भन्दा गैरपत्रकारले प्रश्नको वर्षा गरे ।
निकै अव्यवस्थित पत्रकार सम्मेलनमा गैरपत्रकारले एनआरएन नेतृत्वले आर्थिक पारदर्शिता कायम नगरेको मतदाता नामावली फेरबदल भएको, एनआरएनमा राजनीति हाबी भएको जस्ता सवाल उठाए ।
तर प्रश्नको जवाफ दिने क्रममा उपाध्यक्ष कुमार पन्त र महासचिव बद्री केसीले कुनै प्रष्ट जवाफ दिएनन् ।
यद्यपि महासचिव केसीले पत्रकार सम्मेलनमा ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सम्मेलन हुन लागेको बताए । उनका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिसकेका छन् ।
रोचक त के रह्यो भने पत्रकार सम्मेलनमा अध्यक्ष भवन भट्ट उपस्थित थिएनन् । जब पत्रकार सम्मेलन सकियो त्यसपछि पत्रकार सम्मेलनमा पुगेका भट्टले आफूबिना पत्रकार सम्मेलन गरिएको भन्दै असन्तुष्टि पोखे । उनको असन्तुष्टिपछि दोहोर्याएर पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् । मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ ।
आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।






