सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नुपर्छ

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनताको बलिदानबाट आएको संविधानलाई संस्थागत गर्न सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नुपर्ने सुझाव दिएका छन् ।काङ्ग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले सहमति, सहकार्य र एकताको सन्देश गएको बताए ।

लोकतन्त्र कसैको निगाह र दयाले नभई जनताको बलिदानबाट आएकाले यसलाई मास्छु कसैले भन्छ भने त्यो सपना मात्र हुने गच्छारको भनाइ थियो ।

उनले विगतमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको भनाइ राख्दै अहिलेको सरकार दुई तिहाइ बहुमतको भएकाले विकास र शान्तिले सार्थकता पाउनेमा आफू आशावादी रहेको चर्चा गरेका छन् ।