तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रहरीले अनुसन्धान गहन र गम्भीर ढंगले गरिरहेको छ ।
यसक्रममा महरासँगै गएका ३ जना सुरक्षाकर्मीसँग पनि बयान लिएको छ । १२ असोजमा उनीहरूको ‘लोकेसन’ रोशनीकै कोठाबाहिर रहेको पाइएको छ ।
३ जनालाई नै बोलाएर प्रहरीले उनीहरूको साविती बयान गरेको छ । बयानका क्रममा उनीहरुले भनेका छन्, ‘निजी नम्बरको स्कारर्पियोमा हामी महरासरसँग गएका हौं । तीनकुने पुगेपछि गाडी रोकेर म आधा घण्टामा आउछु भनेर उहाँ जानुभएको हो । त्यसबीचमा के-के भयो त्यो त जानकारी भएन तर हामी महरासरसँग ती महिलाको कोठासम्म गएको सत्य हो ।’
यस्तोमा महरा घटनास्थलमा भएको पुष्टि हुने आधार प्रहरीले सुरक्षागार्डलाई नै मानेको छ । उनीहरू सुरक्षा निकायकै व्यक्ति भएकाले बयान फेरिने सम्भावना निकै न्यून रहेको प्रहरी स्रोत बताउँछ ।
१२ असोजमा महरा ती महिलाको कोठामा गएको रुट सबैजसो सीसीटीभी फुटेजमा देख्न भने सकिन्छ । सुरक्षागार्डको कल डिटेल लोकेसन पनि घटनास्थल वरपर देखिन्छ ।
प्रहरी स्रोत भन्छ, ‘महराले मोबाइल स्वीच अफ वा फ्लाइट मोडमा राखेको हुनुपर्छ । यस्तो अवस्थामा लोकेसन भेटिँदैन । तर उहाँको चश्मा, जुत्ताको सोल घटनास्थलमा भेटिएको छ । जसबाट महरा त्यहाँ भएको पुष्टि हुन्छ ।’






