महरा प्रकरणबारे प्रचण्ड-भट्टराईबीच गम्भीर छलफल, उपेन्द्र साक्षी

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बीच गम्भीर छलफल भएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजमा उनीहरूले यस्तो छलफल गरेका हुन् ।

छलफलका क्रममा स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि संगै देखिन्छन् । कुराकानीमा भट्टराईले महरा प्रकरणबारे छलफल भएको बताएका छन् ।

‘प्रचण्डजीसँग मैले मुख्यगरी ३ वटा विषयमा कुराकानी गरें,’ भट्टराईले भने, ‘हाम्रा छिमेकी चीन–भारत र अमेरिकाबीच सम्बन्ध, समसामयिक राजनीति र महरा प्रकरणबारे कुराकानी भयो ।’

भारत–चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न राष्ट्रिय धारणा बनाउनु पर्नेमा प्रचण्डको ध्यानाकर्षण गराएको भट्टराईले बताए ।

भट्टराईका अनुसार प्रचण्ड भने उनका कुरा सुनेर कुनै बेला गम्भीर त कुनै बेला मुसुक्क हाँसेका थिए । उक्त अवसरमा भट्टराईले महरा प्रकरणलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताएका थिए ।