प्रचण्डलाई भट्टराईको गम्भीर प्रश्न, ‘एमालेको बाटोमा हिंडेर के नयाँ हुन्छ भन्नुस् त ?’

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बीच गम्भीर छलफल भएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजमा उनीहरूले यस्तो छलफल गरेका हुन् ।

छलफलका क्रममा स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि संगै देखिन्छन् । प्रचण्ड र भट्टराई ‘जनयुद्ध’का सहयोद्धा हुन् । अहिले भने उनीहरूको पार्टी फरक छ । उनीहरूबीच बिरलै यसरी भेट र भलाकुसारी हुने गर्छ । त्यो तस्बिरले मानिसहरूको ध्यान तानेको पनि सायद त्यही कारणले हो ।
कुराकानीमा भट्टराईले महरा प्रकरणबारे छलफल भएका बताएका छन् ।

‘प्रचण्डजीसँग मैले मुख्यगरी ३ वटा विषयमा कुराकानी गरें,’ भट्टराईले भने, ‘हाम्रा छिमेकी चीन–भारत र अमेरिकाबीच सम्बन्ध, समसामयिक राजनीति र महरा प्रकरणबारे कुराकानी भयो ।’ भारत–चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न राष्ट्रिय धारणा बनाउनु पर्नेमा प्रचण्डको ध्यानाकर्षण गराएको भट्टराईले बताए ।

‘भारत र चीन त हाम्रा छिमेकी भए । नेपालमा अमेरिकाको पनि चासो बढ्दै छ । ३ पक्ष चासो बढेको सन्दर्भमा चिनियाँ राष्ट्रपतिको भ्रमण भारत भएर यहाँ (नेपाल) भएको हो,’ भट्टराईले प्रचण्डसँग कुराकानीबारे थपे, ‘राष्ट्रपति सीको भ्रमणले राम्रो अवसर सिर्जना गर्न पनि सक्छ । त्यसैले उत्तर–दक्षिण र पश्चिम कतै पनि ढल्किन वा चिढ्याउनभन्दा हामीले तीनवटै शक्तिसँग कसरी सन्तुलित सम्बन्ध राखेर देशलाई अगाडि बढाउन सकिएला? व्यक्ति र पार्टीको मात्र होइन, राष्ट्रिय धारणा बनाउनुर्पयो भनें। म प्रायस् सबै नेताहरूसँग यो कुरा भन्ने गर्छु उहाँ (प्रचण्ड) सँग पनि यही कुरा भयो। योबारे केही मिनेट कुरा भयो ।’

यसपछि भट्टराई र प्रचण्डबीचको छलफलको प्रसंग बदलियो । देशको समग्र राजनीतिबारे उनीहरू गफिएको पनि बुझिएको छ ।

‘देशको राष्ट्रिय राजनीति, अर्थतन्त्र आदि त्यति राम्रो छैनन् । यत्रो सुविधाजक बहुमत छ, परिणाम आइराखेको छैन । कम्युनिष्ट पार्टी अझै माओवादी आन्दोलनको ठूलो हिस्सा प्रचण्डजीसँग जोडिएको छ । खासै परिवर्तनको प्रत्याभूति देखाउन नसक्दा जनतामा निराशा छ । त्यसैले यसबारे गम्भीर ढंगले सोच्नेबारे छलफल गर्ने बेला आएको हो कि होइन? कस्तो सोचिराख्नुभएको छ भन्ने मेरो जिज्ञासा रह्यो,’ भट्टराईले भने ।

भट्टराईका अनुसार प्रचण्ड भने उनका कुरा सुनेर कुनै बेला गम्भीर त कुनैबेला मुसुक्क हाँसेका थिए । उक्त अवसरमा भट्टराईले महरा प्रकरणलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताएका थिए ।

‘महरा पहिलेदेखि नै सम्भावना बोकेको नेता हो । रोल्पाका नेताहरूमध्ये पनि शिक्षकको नाताले अगुवा भएर उहाँलाई हामीले प्रश्रय पनि दिएको हो । अहिले उहाँले यो परिघटनाको व्यक्तिगत रूपमा कमीकमजोरी त व्यहोर्नुपर्छ नै । घटनाबारे खुलस्त राख्नुपर्छ, ढाकछोप गर्न हुँदैन,’ भट्टराईले भने, ‘तैपनि मोरल्ली (नैतिक रूपमा) हाम्रो त्यत्रो क्रान्तिकारी आन्दोलन त्यो विन्दुसम्म पुग्यो। त्योबारे त हामीले समीक्षा गर्नुपर्छ। यीनै कुरामा छलफल भएका हुन् ।’

भट्टराईका अनुसार यतिन्जेल सुनिराखेका प्रचण्डले भने, ‘नयाँ ढंगले सोचौं न ।’

भट्टराईले भने, ‘कुरामा त प्रचण्डजीको त्यति विमति हुँदैन । अहिलेको समग्र पाटोबारे सबै भएर सोच्नुपर्छ भन्ने नै प्रचण्डजीको भनाइ थियो ।’

भलाकुसारीको अन्तिममा प्रचण्डका कुरा सुनेर भट्टराईले व्यंग पनि गरे, ‘नयाँ ढंगले सोच्ने त भन्नुहुन्छ, तपाईं फेरि पनि पछाडि नै फर्केर हिँड्नुहुन्छ । एमालेको बाटोमा हिंडेर के नयाँ हुन्छ भन्नुस् त ?’