भुटानसँग नेपालको बराबरी

भुटानमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको छ । यसअघिनै च्याम्पियनसिपबाट बाहिरिएको नेपालले जितविनै भुटान यात्रा सकेको छ ।

आइतबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझायो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा नेपालले ५१औं मिनेटमा गोल गरेको थियो ।

नेपालकी निकिता थोकरले गोल गरिन् । त्यसपछि भुटानकी कप्तान डेकी इहाजोमले ६८औं मिनेटमा बराबरी गोल फर्काइन् ।

नेपाल पहिलो खेलमा भारतसँग ४–१ र दोस्रो खेलमा बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो । भारत र बंगलादेश एक खेलअघिनै फाइनमा पुगेका थिए ।

लिगचरणको अन्तिम खेलमा आइतबार नै भारत र बंगलादेशले पनि १–१ गोलको बराबरी खेलेका छन् । दुई टोलीबीच फाइनल खेल मंगलबार हुनेछ ।