कास्की कांग्रेसद्धारा शुभकामना आदानप्रदान

विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठको अवसरमा पारी नेपाली काङ्ग्रेस कास्कीले आइतबार शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका साथै कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक एवं राष्ट्र सेवकको सहभागिता थियो ।

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीतिसहित विश्वेश्वरप्रसाद कोइराला स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदानको कार्यक्रम गर्दै आइएको बताए ।

राष्ट्रिय हितका लागि सहमति, सहकार्य र एकताको नीतिलाई कांग्रेसले सधैं आत्मसात् गर्दै आएको बताउँदै उनले विजया दशमी, दीपावली, छठजस्ता चाडपर्वले सबैलाई राष्ट्र र समाजका पक्षमा एकाकार गराउने विश्वास व्यक्त गरे ।

कांग्रेस कास्कीका कार्यवाहक सभापति आइबहादुर गुरुङले यस्ता चाडपर्वले सबैमा आपसी भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईका अनुसार कांग्रेसले विश्वेश्वर कोइरालाका समयदेखि नै कोजाग्रत पूर्णिमाको दिनमा विजयादशमी, दीपावली, छठ, नेपाल संवत्लगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै आएकोमा यस वर्ष पनि केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्लामा यस कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

Image may contain: 14 people, including Laxmi Pandey, Muna Bastola and Kalpana Baral, people smiling, people standing, crowd and outdoor

बिरामी भएका कारण कास्की कांग्रेसका सभापति कृष्ण केसी भने सहभागी थिएनन् ।