ताजा समाचार

असाेज २६ गते २०७६

आलु महोत्सव कात्तिकमा हुँदै

मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले सो महोत्सव आयोजना गर्न लागिएको हो । 

वार्षिक एक करोडभन्दा बढीको आलु उत्पादन र बिक्री वितरण हुँदै आएको मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए ।

कात्तिक १ र २ गते सञ्चालन हुने सो महोत्सवको अवसरमा विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, आलुको विभिन्न परिकारको कक्ष, मौसमी तथा बेमौसमी तरकारीको कक्ष र मेलुङ गाउँपालिकाको विभिन्न ठाउँका तस्बीरको प्रदर्शन गरिने थोकरले जनाए । 

मेलुङ गाउँपालिका ३ को भुमेस्थान, काँडे, बाटुले, वडा नं ४ को फुर्के सल्ला, तीतेचौर, सहरे, लहरे, माथिल्लो दम्बुवा, सरङ्थली तथा वडा नं ५ को दुधिले, भञ्ज्याङ, कल्छे, डाँडाखर्क र कात्तिकेमा अत्यधिक मात्रामा वर्षे आलु उत्पादन हुन्छ । “व्यवस्थापन तथा बजारीकरणका लागि आलु महोत्सव महत्वपूर्ण बन्ने छ”, श्रेष्ठले भने । 

गाउँपालिकाका अधिकांश बासिन्दा कृषिमा निर्भर रहेको र वर्षा याममा आलु अत्यधिक उत्पादन हुने भए पनि भण्डारण तथा बजार व्यवस्थापनको समस्याले कृषक समस्यामा पर्ने भएकाले मेलुङ आलु महोत्सवको आयोजना गरिएको बताए । महोत्सवले आलुको भण्डारण, बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नसक्ने गाउँपालिकाको अपेक्षा रहेको छ ।