गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका काठमाडौंमा हुँदैछ । सम्मेलन यही असोज २८, २९ र ३० गते हुँदैछ । सम्मेलनमा ५५ देशका करिव २२ सय प्रतिनिधि सम्मेलनमा सहभागी हुने एनआरएनएले जनाएको छ ।
२८ असोज मंगलबार राजधानीको होटल हायात रिजेन्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्मेलनको उद्घााटन गर्नेछन् ।
दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ ।
एनआरएनएको नयाँ नेतृत्वका साथै अन्य विभिन्न पदमा उम्मेदवारी घोषणा गरेर प्रचार अभियान तीव्र बनाइएको छ ।

यसैक्रममा पोखराका हिमाल गुरुङले पनि उम्मेदवारी घोषणा गरेर भेटघाट र छलफललाई तीव्र बनाएका छन् । उनले एनआएनए अन्तर्राष्ट्रिय समन्वय समितिको युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी मनोनयन भने सोमबार हुँदैछ ।
गुरुङको सामाजिक जीवनको शुरुआत नेदरल्याण्ड्सबाटै भएकाले उनले आफ्नो उम्मेदवारी घोषणा समेत नेदरल्याण्ड्सबाटै गरेका छन् । युवा हिमालले एनआरएनए नेदरल्याण्डको नेतृत्व समेत सम्हालिसकेका छन् ।
आफ्नो कार्यकालमा सबैभन्दा कान्छा अध्यक्ष रहेका गुरुङ नेदरल्याण्ड्समा गैरआवासीय नेपाली संघको अध्यक्ष हुँदा गरेका विभिन्न सामाजिक कामका कारण चर्चित छन् । उनी एनआएनए अन्तर्राष्ट्रिय समन्वय समितिको वर्तमान सदस्य समेत हुन् ।
उनले आफू संयोजकमा निर्वाचित भएपछि गर्ने काम समेत घोषणा गरेका छन् । गुरुङले विषेश गरेर दोस्रो पुस्ताका एनआरएनलाई एनआरएन अभियानको मूलप्रवाहमा समाहित गराउने मुख्य एजेण्डा अघि सारेका छन् ।
यसैगरी विदेशमा कमाएको शिप र पुँजीलाई स्वदेशमा लगानी गरी समृद्ध नेपाल निर्माणमा भूमिका खेल्ने, विदेशमा रहेको सबै नेपाली युवाबीच आपसी भाइचरा विस्तार र बलियो सम्बन्ध स्थापित गर्न पहल गर्ने नेपालमा आइपरेको विपत्तिमा विदेशस्थित विभिन्न संघसंस्थासंग समन्वय गरी सहयोग भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

यस्तै नेपालको संसदमा विचाराधीन नागरिकता ऐन अघि बढाउन पहल गर्ने नेपालका सामुदायिक विद्यालयको स्तरोन्नति, गुणस्तरीय शिक्षाका साथै भौतिक संरचना निर्माणका लागि आवश्यक समन्यवकारी भूमिका खेल्ने समेत उनको लक्ष्य छ ।
यसैगरी विदेशस्थित नेपाली नयाँ युवा पिंढीमा नेपालबारे भावना जागृत गराएर स्वदेश फर्काउन समन्वयकारी भूमिका खेल्ने, नेपालको खेलकुदका साथै विभिन्न आयोजना निर्माणमा लगानी भित्र्याउन पहल गर्ने गुरुङको लक्ष्य छ ।
सञ्चार तथा प्रविधिमा दोस्रो पुस्ताका एनआरएनले आर्जेको सीप तथा नेपालमा सदुपयोग तथा परिचालन गरी समृद्ध नेपालको यात्रामा सहयोग पुर्याउने समेत आफ्नो लक्ष्य रहेको उनले बताए ।
उनले यसअघि नेपालको महाभूकम्प र वाढीपीडितका लागि सहयोग संकलन गरी नेपालको विभिन्न क्षेत्रमा सहयोग गरेका थिए । उनले नेपालको ग्रामिण भेगमा रहेको विभिन्न समेत विद्यालयमा सहयोग गरेका छन् ।

‘ग्लोबल्ली एनआरएन’ मा पनि सामाजिक सम्बन्ध अत्यन्तै मजबुत बनाएका गुरुङ युवा संयोजकका लागि अत्यन्तै योग्य र सक्षम उम्मेद्वारको रुपमा चर्चा हुन थालेको छ ।
आफूले थप भावी रणनीतिका लागि विभिन्न व्यक्तित्वसंग छलफल गरिरहेको उनले बताए । सबैको सकारात्मक धारणाले आफू निकै उत्साहित भएको उनले स्पष्ट पारे ।






