पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन सो मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल किनारामा सेलाउने प्रचलन छ । आजकै दिन मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत छ । तालको बीचमा रहेका कारण दर्शनका लागि भक्तजनले डुङ्गा चढ्नु अनिवार्य भएकाले आज लाग्ने मेलामा डुङ्गा व्यवसायीलाई यात्रु ल्याउन लैजान भ्याइनभ्याइ भएको छ । आज मात्र सो मन्दिरमा लगभग एक लाख भक्तजनले दर्शन गर्ने तालबाराही मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन समितिका सदस्य जुना अधिकारीले जानकारी दिइन । कोजाग्रत पूर्णिमा भएका कारण बिहानैदेखि भक्तजनको अत्यधिक भीड लागेको उनले बताए ।
फेवाताल डुङ्गा व्यवसायी समितिले दुईवटा डुङ्गा जोडेर बनाएका ३५ वटा डुङ्गाका साथै अन्य डुङ्गाबाट भक्तजनलाई सेवा प्रदान गरिरहेको समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार फेवातालमा कूल ३६३ डुङ्गाले भक्तजनलाई सेवा दिइरहेका छन् । डुङ्गाबाट मन्दिर आवतजावतका लागि प्रतिव्यक्ति रु ६० तिनुपर्ने हुन्छ । पर्यटकीय नगरी पोखरामा आउने जो कोही पर्यटकले पनि यहाँको अवलोकन गर्न र देवीको दर्शन गर्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा तालबाराही मन्दिर रहेको होटल रानीवन अर्किड लेकसाइडका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए । माछापुच्छ«े हिमालको छाया देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडाशैलीको मन्दिर रहेका कारण यसको सौन्दर्य अत्यन्त मनमोहक छ । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थलमध्ये एक हो । अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण ग¥यो भन्ने यकिन तथ्य भने अझै पनि अनुसन्धानको पर्खाइमा छ ।






