हालैका वर्षमा नेपालको चीनसँग सम्पर्क निकै बढेको बताउने गरिए पनि नेपाली परराष्ट्र मन्त्रालयसँग एकजना पनि चिनियाँ दोभासे नरहेको अधिकारीहरूले बताएका छन्।
त्यसका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको काठमाण्डू भ्रमणको तयारीका क्रममा बाक्ला भएका कूटनीतिक छलफलहरूमा चिनियाँ पक्षले आफ्ना लागि ल्याएका दोभासेबाटै काम चलाइएको स्रोतहरूले बीबीसीलाई बताएका छन्।
चिनियाँ राष्ट्रपति सीले शनिवारदेखि नेपालको द्विदिवसीय राजकीय भ्रमण गर्दैछन्।
नेपालको परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवामा कार्यरत कर्मचारीहरूको चिनियाँसहित विदेशी भाषाहरूमा दखल बढाउने विषय मन्त्रालयको प्राथमिकतामा रहेको र त्यसअनुसार काम आरम्भ गरिएको प्रतिक्रिया दिएको छ।
आफ्ना लागि आफ्नै दोभासे
राष्ट्रपति सीको भ्रमणको तयारीका क्रममा विभिन्न चिनियाँ प्रतिनिधिमण्डल तारन्तार काठमाण्डू भ्रमणमा आएका विवरण सार्वजनिक भइसकेका छन्।
उनीहरूले नेपालका राष्ट्रपतिदेखि प्रधानमन्त्री अनि उच्चपदस्थ सुरक्षा अधिकारीहरूसँग समेत कुराकानी गरेका थिए।
राष्ट्रपतिसँग भेट्न शीतल निवास पुग्दा उनीहरूका साथ चिनियाँ दोभासे पनि थिए जसले दुई पक्षबीच भएका कुरा अनुवाद गरेर एक अर्कालाई जानकारी गराउँथे।
यस्तो संवाद हप्तामै तीन-चार पटकसम्म दोहोरिएपछि कतिपय नेपाली अधिकारीले आफ्नो देशसँग चिनियाँ दोभासे नभएकोमा खिन्नता प्रकट गरेको बीबीसीले थाहा पाएको छ।
हालैका वर्षमा नेपाल-चीनबीचको सम्बन्ध झन् विस्तार भए पनि नेपालसँग चिनियाँ भाषा जानेका पर्याप्त कूटनीतिज्ञ नरहेको बताइन्छ।

यसबारे बीबीसीको प्रश्नमा परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, “हामीले चिनियाँ, फ्रेन्चजस्ता भाषा पराराष्ट्र मन्त्रालयमै सिक्न सकिने व्यवस्था मिलाएका छौँ। र, यस्ता भाषामा हाम्रा जनशक्तिहरू अब्बल होऊन् भन्नेतर्फ उन्मुख हुने प्रयास अघि बढाएका छौँ।”
तर परराष्ट्र मामिलालाई नजिकबाट नियालिरहेका कतिपय जानकारहरू नेपालले आफ्ना कूटनीतिज्ञहरूको विज्ञता र विदेशी भाषा ज्ञान बढाउने कुरालाई खासै प्राथमिकतामा नराखेको टिप्पणी गर्छन्।
अघिल्लो महिना बीबीसीलाई दिएको अन्तर्वार्तामा दक्षिण एशियाली नीति अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक श्रीधर खत्रीले बदलिँदो विश्वपरिवेशअनुसार परराष्ट्र मन्त्रालयले जनशक्ति, योजना र नीति तयार पार्न नसकेको टिप्पणी गरेका थिए।
उनको भनाइ थियो, “हामीकहाँ अहिले चीनबाट फर्किएर आएका विद्यार्थी अनि व्यापारीहरूले राम्रोसँग चिनियाँ भाषा बोल्छन्। तर परराष्ट्र मन्त्रालयका मान्छेहरूको विज्ञता भाषामा पनि छैन। चीनमा विकास भइरहेका राजनीतिक घटनाक्रममा पनि छैन। त्यो मिहिन ज्ञान हामीले हासिल गर्नैपर्छ।” -बिबिसी






