ताजा समाचार

असाेज २५ गते २०७६

सी हिंड्ने बाटोमा सर्वसाधारणलाई रोक, विमानस्थल २ घण्टा बन्द

चिनियाँ राष्ट्रपति सी चिनफिङ हिँड्ने बेला रूटमा पर्ने बाटो सर्वसाधारणका लागि बन्द गरिने भएको छ। उनको दुईदिने नेपाल भ्रमण शनिबारबाट सुरू हुँदैछ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले चिनियाँ राष्ट्रपति सी हिँड्ने बेला त्यो रूट पूर्ण रूपमा ठप्प गरिने जानकारी दिए।

‘त्यो समयमा सर्वसाधारणले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने हुन्छ,’ उनले भने। कुन सडक कतिबेरसम्म बन्द हुने अहिल्यै भन्न नसकिने पौडेलले जानकारी दिए।

‘हामी भोलि बन्द हुने सडकको तालिका निकाल्छौं होला। राष्ट्रपति सी हिँड्ने एयरपोर्ट, शितलनिवास, सोल्टी होटल लगायत ठाउँमा जाँदा त्यही समय पर्‍यो भने सहायक सडक प्रयोग गर्नुपर्नेछ,’ उनले सेतोपाटीसँग भने।

सीको जहाज शनिबार अपराह्न ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका छ। 

यस निम्ति विमानस्थल साढे २ घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाइसकेको छ। शनिबार दिउँसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गर्न कार्यालयले आदेश दिएको छ।


Loading...