ताजा समाचार

असाेज २५ गते २०७६

चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटल पूरै रिजर्भ

चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा रिजर्भ गरिएको छ। सीका लागि बस्ने व्यवस्था मिलाइएको उक्त होटल पूरै रिजर्भ भएको होटलका एक उच्च व्यवस्थापकले जानकारी दिए।

२८२ वटा कोठा भएको होटलमा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नेछन्।उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै होटलमा रहेका उपहार पसलहरू पनि बन्द हुने भएको छ।

होटल व्यवस्थापकका अनुसार शुक्रबार र शनिबारका लागि होटल पूरै बुक भएको छ। होटलले उच्च पदस्थका लागि पहिल्यै बुक भएकाले केही समय अघिदेखि नै निर्धारित मितिका लागि बुकिङ लिन छाडेको थियो।

आइतबार ११ बजेसम्मका लागि चिनियाँ राष्ट्रपति सी सोल्टीमा हुने भएकाले उक्त दिनका लागि पनि होटलले बाहिरी अरू बुकिङ लिएको छैन।

यद्यपी घोषणा हुनुभन्दा पहिल्यै लिइएका बुकिङ र अहिले निरन्तर बसिरहेका पाहुनालाई अरु होटलमा सारिएको होटलका एक व्यवस्थापकले जानकारी दिए। उनका अनुसार उच्च पदस्थको सुरक्षा संवेदनशीलताअनुसार यस्तो रिजर्भ हुनु सामान्य हो।

सी पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। उनको भम्रण तालिकाअनुसार उनी शनिबार साढे चार बजे विमानस्थल अवतरण गर्नेछन्। साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तापछि सोल्टीमै रात्रिभोज कार्यक्रम राखिएको छ। 

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र द्विपक्षीय सम्झौता गरी सी चीन फर्कनेछन्। उनको चीन फर्किने उडान १ बजेको छ।

सी ओहोरदोहोर गर्न समयमा उक्त रूट पूर्ण रूपमा बन्द गरिने र उडानका समयमा पनि विमानस्थलमा अरू कुनै उडान नगरिने व्यवस्था मिलाइएको छ। 


Loading...