ताजा समाचार

असाेज २४ गते २०७६

बसको ब्रेक फेल थियो, सडकबाट बल्ड्याङ खाइहाल्यो : प्रत्यक्षदर्शी

इन्द्रावती गाउँपालिका–१०, सिन्धुपाल्चोकमा यात्रुबाहक बस ब्रेक फेल भएर अनियन्त्रित भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको २७१५ नम्बरको यात्रुबाहक बस बिहान साढे आठ बजे गुडेको सोही बसमा सवार लक्ष्मी लम्सालले जानकारी दिइन् ।

“गुडेदेखि नै बसको ब्रेक लाग्दैन भनेर चालकले भन्दै थिए । दसैं मानेर काठमाडौं फर्कने यात्रुको भीड थियो । बसभित्र झुण्डिनेसमेत ठाउँ नभएपछि धेरै बसले चढेनन् । अर्को गाडी पर्खिए,” उनले भनिन् । तिखु मोड नआइपुग्दै आफू गाडीबाट ओर्लिएको र ओर्लिनासाथ दुर्घटनामा परेको लक्ष्मी बताउँछिन् ।

लक्ष्मी लम्साल

“त्यहाँनेर बाटो फराकिलो थियो । तर पनि गाडीले बल्ड्याङ खायो । दुर्घटनामा चालकको पनि मृत्यु भएको छ, उनको शव पनि निकाल्न सकिएको छैन,” उनले भनिन् ।

केही यात्रु बसभित्रै च्यापिएकाले निकाल्न कठिन भइरहेको उनले जानकारी दिइन् । दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । अझै बढ्ने आशंका उनको छ ।

घाइतेमध्ये केहीको हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ । घाइतेको अवस्था पनि चिन्ताजनक रहेको उनको भनाइ छ ।

दुर्घटनामा देवर विनोद लम्सालको निधन भएको बताउँदै उनले इन्द्रावती गाउँपालिका–९ र १० का यात्रु दुर्घटनामा परेको र हताहती पनि त्यहीँका भएको बताइन् । 

कच्चि सडक, यात्रुको भीड र बसको अवस्था नै दुर्घटनाको कारक भएको उनी बताउँछिन् । “बाटो साँघुरो र घुम्ती छ । पुराना बस छन् । समयमा मर्मत पनि हुँदैनन् । त्यसैले दुर्घटना भयो,” उनी भन्छिन् ।


Loading...