ताजा समाचार

असाेज २४ गते २०७६

नेपाल र चीन असल दाजुभाइ : सी जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङले चीन र नेपाल एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ भएको बताएका छन् । उनले आफू नेपालको भ्रमणमा पहिलो पटक आउन लागेको भए पनि नेपाल परिचित भएको समेत जनाएका छन् ।

सरकारी मुखपत्र गोरखापत्रमा आज प्रकाशित उनको एक आलेखमा सो कुरा जनाइएको छ । चीनका राष्ट्रपतिले कुनै देशको भ्रमणमा जानुअघि सो देशको पत्रिकामा लेख लेख्ने चलन विगतदेखि नै रहँदै आएको छ । 

उनले लेखमा एक प्रसंगमा भनेका छन्, ‘‘चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन् । सन् २००८ मा चीनको सछ्वान प्रान्तको वेनछ्वानमा विनाशकारी भूकम्प गएपछि नेपाल सरकार र नेपाली जनताले सक्रियताका साथ पैसा र सामग्रीहरू प्रदान गरी चीनको भूकम्प राहत कार्यमा सहयोग पुर्याएका थिए । त्यसैगरी सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चिनियाँ सरकार र जनताले तुरुन्तै ठूलो मात्रामा उद्धार कार्य प्रारम्भ गरी भूकम्पपश्चातको पुनःनिर्माणमा पनि सहयोग पुर्याएका थिए । यी चीन र नेपालबीच रहँदै आएको भाइचाराका उत्कृष्ट उदाहरण हुन् ।’’

उनले अगाडि भनेका छन्, ‘‘वर्तमानमा नेपाल सरकार र जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि अघि बढिरहेका छन् भने चिनियाँ सरकार र जनता ‘दुईवटा सय वर्ष’ लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेका छन् । चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ । ’’

उनले लेखमा नेपाल र चीनबीच आगामी दिनमा रणनीतिक सञ्चारलाई प्रगाढ बनाउने, व्यवहारिक सहयोग विस्तार गर्ने, जनस्तरीय आदान प्रदानलाई व्यापक पार्ने र सुरक्षा सम्बन्धी सहयोगलाई सुदृढ पार्नुपर्ने जनाउँदै आलेखमा भनेका छन्, ‘‘नेपालीमा एउटा भनाइ छ, ‘थोपा–थोपा मिलेर समुद्र बन्दछ’, चिनियाँमा पनि यस्तै भनाइ छ, ‘सबैले दाउरा थप्दै गएमा आगोको ज्वाला अझै ठूलो हुँदै जानेछ ।’ जबसम्म दुवै देशले मैत्रीपूर्ण परम्परालाई अगाडि बढाउने र निरन्तर रूपमा आदान–प्रदान र सहयोगलाई विस्तार गर्दै जानेछ, मलाई विश्वास छ, चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याउन सक्दछौँ ।’’


Loading...