ताजा समाचार

असाेज २३ गते २०७६

महरा केही दिन अस्पतालै रहने

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई केही दिन अस्पतालमै राखिने भएको छ।

बलात्कारको आरोपमा प्रहरी हिरासत, सिंहदरबारमा राखिएका महराको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार नर्भिक भर्ना गरिएको थियो। 

अस्पतालका प्रवक्ता आरपी मैनालीका अनुसार महरालाई उच्च रक्तचापको समस्या देखिएपछि दिउँसो १२ बजे अस्पताल भर्ना गरिएको हो।

महराको स्वास्थ्य परीक्षण भइरहेकाले केही दिन अस्पतालमै बस्न डाक्टरहरूले सुझाव दिएको महानगरीय प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। तर कति दिन राखिने भन्ने यकिन नभएको पनि उनले बताए।

‘उहाँको रक्तचाप बढेको छ। अनुहार पनि सुन्निएको छ। यसकारण केही दिन राखेरै हेर्नुपर्ने डाक्टरहरूले भनेका छन्,’ बोगटीले भने। महरालाई पहिल्यैदेखि श्वासप्रश्वासको समस्या पनि थियो। उनलाई हाल क्याबिनमा राखिएको छ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो। महराले आफूमाथि बलात्कारको प्रयास र हिंसा गरेको शाहीले आरोप लगाएकी छन्।

उनलाई पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो। उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ।


Loading...