ताजा समाचार

असाेज २२ गते २०७६

सुन्दर पोखरालाई गिज्याउँदै ‘स्वागत गेट’ (फोटो फिचरसहित)

पोखरा सुन्दर नगरी हो भन्ने गरिन्छ । यहाँको सौन्दर्य हेर्न लाखौं स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । यी पर्यटकमध्ये धेरैजसो पृथ्वीराजमार्ग नै भएर पोखरा भित्रिन्छन् ।

पर्यटक तथा समग्र पोखरा भित्रिने नेपाली नागरिकलाई पोखरा महानगरपालिकामा हार्दिक स्वागत छ र पोखरा भ्रमण गर्नुभएकोमा धन्यवाद भनेर लेखिएको स्वागत गेटले पोखरालाई गिज्याइरहेको छ ।

पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ शब्द हटाएर पोखरा महानगरपालिका मात्र भएको लामो समय भैसकेको छ । तर पोखरा र तनहुँको सीमाना नजिक अर्थात पोखरा-३२, मजुवामा बनाइएको स्वागत गेटमा अझै पोखरा लेखनाथ महानगरपालिका नै लेखिएको छ । गेट रंग उँडेर हेर्नै नहुने भएको छ ।

यो गेट तत्कालिन लेखनाथ नगरपालिकाले बनाएको हो । उक्त समयमा गेट आकर्षक थियो । जब पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका बनेर पोखरा महानगरपालिका बन्यो, त्यसै समयदेखि यो गेट अलपत्र परेको हो ।

गेटको एकातर्फ (कोत्रेपट्टी) लेखिएको छ, ‘पर्यटकीय एवं सांस्कृतिक सम्पदायुक्त पोखरा लेखनाथ महानगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं ।’

गेटको अर्कोतर्फ पनि रंग उँडेर हेर्नै नहुने भएको छ । यो भागमा लेखिएको छ, ‘शहीद स्मृति द्धार’। यो पोखरापट्टीकै भाग हो ।

महानगर बनिसकेपछि २०७५ मा स्वागत गेटमा लेख्न लाग्दा स्थानीय समितिले विरोध गरेको थियो । चाडै राजमार्ग ४ लेनको बन्ने र बाटो विस्तारसँगै स्वागत गेट पनि भव्य र ठूलो बनाइने महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

नजिकै शहीद स्मृति पार्क पनि छ । पार्क भने केही भए पनि व्यवस्थित देखिन्छ । पोखरा कति सुन्दर छ भन्ने कुुरा यो गेटले पनि पुष्टि गर्दछ ! तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहाहत भएका सदस्यको स्मृतिमा यो पार्क बनाइएको थियो । पार्कलाई थप व्यवस्थित बनाउन महानगरले पहल थालेको छ । पार्कको डिपिआर बनाउन यस वर्ष १० लाख बजेट विनियोजन भएको छ ।

शहीद स्मृति पार्क
शहीद स्मृति पार्क
शहीद स्मृति पार्क

Loading...