ताजा समाचार

असाेज २० गते २०७६

विजयादशमी : यस्तो छ आशिर्वादको अर्थ, टीका र जमराको महत्व

विजयदशमी, मान्यजन, आफन्तबाट टीका थाप्ने दिन । बिहान १० बजेर ३५ मिनेटमा टीकाको साइत रहेको छ । निधारमा रातो (कतिले सेतो) टीका थापेर, जौबाट उमारिएको जमरा पहिरिएर मान्यजनबाट आशिष लिने गरिन्छ ।

आशिष अर्थात आर्शिवाद । आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा ।हुन त अहिले धेरैले टीका लगाइदिए पनि आशिष (श्लोक बाचन) गर्दैनन् ।

कतिले यसलाई कष्ठ गरेका हुँदैनन्, कतिले यसको भाव बुझेका हुँदैनन्, कतिले यसको आवश्यक्ता महसुस गर्दैनन् । दशैंमा टीका लगाइदिंदै दिने आशिष संस्कृत भाषामा छ । महिला र पुरुषलाई दिइने आशिषमा पनि एकरुपता छैन ।

यो एउटा संस्कार हो । संस्कार भनेको जीवन पद्धतिलाई डोहोर्याउने सर्वोत्तम माध्यम हो । दशैंमा टीका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरू पनि लुकेका छन् ।

दशैंमा अक्सर आफूभन्दा ठूला, मान्यजनबाट टीका लगाइन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरूले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने हो । दशैंको आशिष यसमै आधारित छ ।

टीका लगाउँदा भनिने आशिष
(पुरुषका लागि)


आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ : द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।। सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति र प्रशिद्धि होेस् ।

(महिलाका लागि)

जयन्ती मंगलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।

यसको अर्थ : ति देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

ससर्ती सुन्दा यसको अर्थ केलाउन सकिंदैन । तर, ४ हरफको यो श्लोकले हामीलाई सही ढंगको जीवन बाँच्नका लागि उपयुक्त बाटो देखाइदिन्छ । विभिन्न पौराणिक पात्रको विशेषता उल्लेख गर्दै त्यस्तै कुरा प्राप्त गर्न सदिच्छा राखिएको छ, यसमा ।

यसरी मान्यजनले आशिष दिंदै लगाइदिने टीकाको पनि निकै अर्थपूर्ण छ । टीका जसलाई अक्षता पनि भनिन्छ, दही, चिनी, रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभागमा लगाइन्छ । यसरी टीका लगाइदिने निधारको मध्यभागलाई आज्ञा चक्र भनिन्छ ।

यो दुबै आँखीभौंको माँझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ ।

यसको अर्थ के बुझन् सकिन्छ भने ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धि, स्वास्थ्य सबै कुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हुन् ।

दशैंको टीका : दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो र सेतो अक्षताको टीका लगाउने चलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ ।

जमरा : दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधि छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।

धर्मशास्त्रहरूले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । खासमा भन्ने हो भने जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरू पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबद्र्धक मानिन्छ ।


Loading...